दूरदृष्टि (Vision)

अन्तर्राष्ट्रिय व्यापारलाई सहज र सुरक्षित बनाउँदै राष्ट्रिय अर्थतन्त्रलाई सुदृढ गर्न योगदान पुर्याउने अग्रणी भन्सार प्रशासन।

ध्येय (Mission)

सूचनामा आधारित जोखिम व्यवस्थापनका आधारमा वैदेशिक व्यापार तथा यात्रु आवागमनमा पेपरलेस, फेसलेस र कन्ट्याक्टलेस सेवालाई प्रवर्द्धन गर्ने।

मूल्य मान्यताहरू (Values)

संशोधित क्योटो महासन्धि (RKC), व्यापार सहजीकरण सम्झौता (TFA), संशोधित आरुषा घोषणापत्र (Revised Arusha Declaration) लगायतका अन्तर्राष्ट्रिय प्रबन्धहरूले संस्थागत मूल्य मान्यतालाई सक्षम र विश्वसनीय भन्सार प्रशासनको आधार मानेका छन्। यसै सन्दर्भमा भन्सार विभागले देहायका मूल्य मान्यताहरूलाई आफ्नो कार्यसम्पादनका मार्गदर्शक सिद्धान्तका रूपमा अवलम्बन गरेको छ।

१. सदाचारिता (Integrity)

सदाचारिता भन्सार प्रशासनको आधारभूत मूल्य हो। यसले कानुन, नैतिकता र सार्वजनिक हितप्रति प्रतिबद्ध रही निष्पक्ष, इमान्दार र उत्तरदायी ढङ्गले कार्य गर्ने संस्कृतिलाई प्रतिबिम्बित गर्दछ। भन्सार प्रशासनले राजस्व सङ्कलन, व्यापार सहजीकरण र समाजको संरक्षणजस्ता संवेदनशील जिम्मेवारी निर्वाह गर्ने भएकाले उच्च स्तरको सदाचारिता अनिवार्य हुन्छ।

२. सेवा उत्कृष्टता (Service Excellence)

सेवा उत्कृष्टताले सेवाग्राही, व्यवसायी तथा अन्य सरोकारवालालाई समयमै गुणस्तरीय, सहज, पारदर्शी र विश्वसनीय सेवा प्रदान गर्ने प्रतिबद्धतालाई जनाउँछ। यस मूल्यले व्यापार सहजीकरण, सेवाग्राही सन्तुष्टि, स्वैच्छिक अनुपालन र प्रतिस्पर्धी व्यावसायिक वातावरण निर्माणमा प्रत्यक्ष सहयोग पुर्याउँछ।

३. व्यावसायिक दक्षता (Professional Competency)

भन्सार प्रशासनको प्रभावकारिता कर्मचारीको ज्ञान, सीप, अनुभव र व्यावसायिक क्षमतामा निर्भर रहेको हुँदा भन्सार प्रशासनको सुधारका लागि दक्ष र अद्यावधिक जनशक्ति आवश्यक छ। व्यावसायिक दक्षताले सही निर्णय, गुणस्तरीय सेवा प्रवाह, उत्तरदायी कार्यसम्पादन र सुधार कार्यक्रमहरूको प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्दछ।

४. नवप्रवर्तन (Innovation)

परिवर्तनशील व्यापारिक वातावरण र बढ्दो सेवाग्राही अपेक्षालाई सम्बोधन गर्न नवप्रवर्तन अपरिहार्य छ। नवप्रवर्तनले नयाँ सोच, प्रविधि र कार्य पद्धतिको प्रयोगमार्फत कार्यसम्पादनलाई अझ प्रभावकारी, सरल, पारदर्शी र परिणाममुखी बनाउँछ। स्वचालन, डिजिटल रूपान्तरण, तथ्याङ्क विश्लेषण, कृत्रिम बुद्धिमत्ता, कागजरहित सेवा र सम्पर्करहित जाँचपासजस्ता पहलहरू नवप्रवर्तनका व्यावहारिक उदाहरण हुन्। आधुनिक र भविष्य उन्मुख भन्सार प्रशासन निर्माणका लागि नवप्रवर्तनशील सोचलाई संस्थागत संस्कृतिको अभिन्न अङ्ग बनाउनु आवश्यक छ।

५. पारदर्शिता (Transparency)

पारदर्शिताले भन्सारका निर्णय, प्रक्रिया, नियम, सेवा र अधिकार-कर्तव्यसम्बन्धी जानकारीलाई स्पष्ट, खुला र सहज रूपमा उपलब्ध गराउने अभ्यासलाई जनाउँछ। यसले सेवाग्राहीको विश्वास बढाउनुका साथै उत्तरदायित्व, पूर्वानुमानयोग्यता र स्वैच्छिक अनुपालनलाई प्रोत्साहित गर्दछ। सूचना प्रविधिको प्रयोग, डिजिटल सेवा विस्तार, कानुनी तथा प्रक्रियागत स्पष्टता, नियमित प्रकाशन र सूचनामा सहज पहुँचमार्फत पारदर्शितालाई थप सुदृढ गर्न सकिन्छ।

६. पारस्परिक सम्मान तथा शिष्टाचार (Mutual Respect and Courtesy)

भन्सार प्रशासनको सफलता प्रविधि र प्रक्रियामा मात्र निर्भर हुँदैन; कर्मचारी, सेवाग्राही, व्यवसायी तथा अन्य सरोकारवालाबीचको सम्बन्ध पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ। पारस्परिक सम्मान तथा शिष्टाचारले सम्मानजनक, सभ्य, सहयोगात्मक र जिम्मेवार व्यवहारको संस्कृतिलाई प्रवर्द्धन गर्दछ। यसले सकारात्मक कार्य वातावरण सिर्जना गर्नुका साथै विश्वास, सहकार्य र साझेदारीलाई सुदृढ बनाउँछ। भन्सार सुधार तथा आधुनिकीकरण योजनाको प्रभावकारी कार्यान्वयनका लागि सङ्गठनभित्र र बाहिरका सबै पक्षबीच आपसी सम्मान, संवाद र सहयोग आवश्यक हुन्छ।