FAQ's

यात्रुले ल्याउन र लैजान पाउने मालवस्तु सम्बन्धी बढी सोधिने प्रश्नहरु
१. विदेशबाट फर्कने नेपाली यात्रुको हकमा

१. नेपाली यात्रुले कस्तो सामान महसुल छुटमा ल्याउन सक्छन् ?
विदेशबाट फर्केका नेपाली यात्रुले देहाय बमोजिमका मालवस्तुहरु ल्याउँदा महसुल पूर्ण छुट हुनेछ।
• लुगाफाटा, बरबिछ्यौना, घर गृहस्थीका पुराना सामानहरु
• औषधी उपचार गराई फर्केका बिरामीले ल्याएका औषधीहरु
• शारीरिक अशक्त यात्रुले सहाराको रुपमा प्रयोग गरेका सामान
• सुनको गहना पुरुषको हकमा पच्चीस ग्राम र महिलाको हकमा पचास ग्रामसम्म र एक लाख रुपैया सम्मको जवाहिरात जडित साथमा ल्याएको गहना गुरिया
• घडि, क्यामेरा, भिडियो क्यामेरा, सेलुलर मोबाइल फोन एक एक थान
• बच्चा राख्ने पेराम्बुलेटर र ट्राइसाइकल एक एक थान
• पेशागत यात्रुले प्रयोग गरी ल्याएको सामान्य प्रकारका सामान एक एक थान
• सात किलोग्राम सम्म खाद्य परिकार
• मदिरा १ लिटरसम्मको एक बोतल

२. महसुल छुट हुने भन्दा बढी परिमाणमा मालवस्तु ल्याएमा के हुन्छ ?
सुन तथा सुनको गरगहना र मदिराको हकमा तोकिएको भन्दा बढी मालवस्तु जफत हुन्छ भने अरु उल्लेख भएका सरसामानको हकमा औचित्य हेरी नियमानुसार लाग्ने महसुल तिरी लैजान स्वीकृति दिन सक्ने व्यवस्था छ।

३. विदेशमा बसी फर्केका नेपाली यात्रुले के कति सुन, चाँदी तथा सो बाट बनेका गहना ल्याउन पाउँछन्‌?
काँचो सुनको हकमा
विदेशबाट नेपाल आउने नेपालीले एक सय ग्राम सम्मको काँचो सुन महसुल तिरेर ल्याउन पाउँछन्‌।
सुनका गहनाको हकमा
विदेशबाट आउने नेपालीले सुनको गहना पुरुषको हकमा पच्चीस ग्राम र महिलाको हकमा पचास ग्राम सम्म महसुल नतिरी ल्याउन पाँउछन्।तर एकजना व्यक्तिले (महसुल तिर्नु नपर्नेः महिलाको हकमा पचास ग्राम र पुरुषको हकमा पच्चीस ग्राम बाहेक) थप दुई सय ग्राम सम्म सुनको गहना भन्सार विन्दुमा महसुल तिरेर साथमा ल्याउन पाउँछन्‌।
चाँदी तथा सो का गहना
विदेशबाट नेपाल आउने नेपालीले पाँच सय ग्राम सम्मको चाँदीको गहना महसुल तिरेर ल्याउन पाउँछन्‌।


अन्य गहना
विदेशबाट नेपाल आउने नेपालीले एक लाख रुपैया सम्मको जवाहिरात जडित सुनका वा चाँदीको गहना मसहुल तिरेर ल्याउन पाउँछन्‌।

४. कस्ता मालवस्तुलाई गहनाको परिभाषा भित्र समावेश गरिएको छैन?
सामान्य आकार मात्र दिएर बनाइएको सुनको बेरुवा औंठी, बाला, सिक्री जस्ता रसायन प्रयोग नगरिएका वस्तुलाई गहना मानिएको छैन।

५. बढी परिमाणमा सुन तथा चाँदी र सो का गहना ल्याएमा के हुन्छ?
कुनै पनि यात्रुले तोकिए भन्दा बढी परिमाणमा काँचो सुन वा चाँदी तथा सुन वा चाँदीको गहनाको महसुल तिरेर पनि ल्याउन पाउने छैनन् र ल्याएको फेला परेमा त्यस्तो मालवस्तुलाई जफत गरी त्यसको मूल्य बराबर जरिवाना र १० लाख रुपैयाँ भन्दा बढी मूल्यको सुन वा चाँदी फेला परेमा कैद समेत हुनेछ।

६. विदेशबाट फर्केका नेपाली यात्रुले ल्याउने टेलिभिजनमा कति महसुल लाग्छ ?
विदेशबाट फर्केका नेपाली यात्रुले ल्याउने जुनसुकै टेलिभिजनमा आर्थिक ऐनले तोके बमोजिमको महसुल दरबन्दी अनुसार महसुल लाग्नेछ।
तर, श्रम स्वीकृति लिई लगातार १२ महिना काम गरी फर्कने सामाजिक सुरक्षा कोषमा सूचीकृत भएको नेपाली यात्रुले जुनसुकै आकार वा प्रकारको टेलिभिजन साथमा ल्याउँदा भन्सार तिर्नु पर्दैन। तर श्रम स्वीकृति लिई लगातार १२ महिना काम गरी फर्केको भए पनि सामाजिक सुरक्षा कोषमा सूचीकत नभएका नेपाली यात्रुले भने ३२ इन्च सम्मको टिलिभिजन मात्र महसुल नतिरी साथमा ल्याउन पाउँछन्‌।

७. विदेशबाट फर्केका नेपाली यात्रुले ल्याउने मोबाइलमा कति महसुल लाग्छ ?
विदेशबाट फर्कने नेपाली यात्रुले आफूले प्रयोग गरिरहेको एक थान मोबाइल साथमा ल्याउँदा महसुल तिर्नु पर्दैन।
तर, श्रम स्वीकृति लिएर लगातार ६ महिनाभन्दा बढी विदेशमा काम गरी फर्केका यात्रुहरुले भने आफ्नो साथमा थप एक थान मोबाइल सेट महसुल नतिरी ल्याउन पाउँछन्‌। तर यस्तो मोबाइलका लागि भन्सार कार्यालयमा घोषणा गरी भन्सार प्रक्रिया भने पूरा गर्नुपर्छ।

८. MDMS प्रणाली भनेको के हो?
Mobile Device Management System (MDMS) नेपाल दुरसञ्चार प्राधिकरणले नेपालमा मोबाइल फोनको नियमन गर्न कार्यान्वयनमा ल्याएको प्रणाली हो । उक्त प्रणालीमा समावेश नभएको मोबाइल फोन सञ्चालन हुन नसक्ने भएकाले सम्पूर्ण यात्रुहरुले सो प्रणालीमा स्वयम् अनलाइन माध्यमबाट दर्ता गर्नु पर्ने हुन्छ। श्रम स्वीकृति लिएर लगातार ६ महिनाभन्दा बढी विदेशमा काम गरी फर्केका यात्रुहरुले आफ्नो साथमा थप एक थान मोबाइल भन्सार नतिरी ल्याउन पाउँनेछन् तथा नेपाल दूरसञ्चार प्राधिकरणको MDMS प्रणालीको वेबसाइट https://mdms.nta.gov.np/public मा निःशुल्क दर्ता गर्न सक्ने छन्।

९. नेपाली यात्रुहरुले महसुल तिरेर कस्तो सामान ल्याउन पाउँछन्‌ ?
• टेलिभिजन, म्यूजिक सिस्टम, रेफ्रिजरेटर, वासिङ्ग मेसिन, पङ्खा, रेडियो, मोबाइल फोन एक एक थान
• लुगाफाटा, जुत्ता, कस्मेटिक्श आदि बढीमा पन्ध्र थान
• घरायसी प्रयोगका सामान्य किसिमका उपकरण(मिक्सर, जुसर, सिलाई मेसिन, ग्यासँ, टेबल, राइस कुकर जस्ता) दुई थान
• दश किलोग्रामसम्म खाद्य परिकार
• पेशागत यात्रुले प्रयोग गरेको सामान्य प्रकारको सामानहरु जस्तै डाक्टरको लागि व्लड प्रेसर नाप्ने सामान्य यन्त्र, स्टेथोस्कोप, खेलाडिको खेलकुद सम्बन्धी सामान जस्तै फुटबल, भलिबल, व्याडमिन्टन सेट, गायकको सामान्य बाजा जस्तै गिटार, हार्मोनियम, तवला जस्ता सामानहरु सामान दुई/दुई थान

१०. विदेशबाट फर्कने नेपाली यात्रुले आफूले प्रयोग गरेका बाहेक नयाँ लुगाफाटा पनि ल्याउन पाइन्छ ?
विदेशमा रहँदा प्रयोग गरेका लुगाफाटा मात्र महसुल छुटमा ल्याउन पाइन्छ। नयाँ ल्याएमा नियमानुसार ल्याउन पाउने परिमाण जतिमा प्रचलित आर्थिक ऐन अुनसार महसुल तिर्नु पर्छ।

११. विदेशबाट फर्केका नेपाली यात्रुले महसुल तिरेर शरीरमा लगाउने लुगाफाटा आदि कतिसम्म ल्याउन पाइन्छ ?
विदेशबाट फर्केका नेपाली यात्रुले आफुले प्रयोग गरेका सामान बाहेक शरीरमा लगाउने लुगाफाटा, जुत्ता, कस्मेटिक्श आदि बढीमा १५/१५ थान नियमानुसार महसुल बुझाई ल्याउन पाइन्छ।

१२. विदेशमा बस्दा आफ्नो सम्बन्धित काममा प्रयोग गरिएका पेशागत सामान बाहेक आफू फर्कंदा नयाँ सामान समेत ल्याउन पाइन्छ ?
पेशागत यात्रुले प्रयोग गरेको सामान्य प्रकारको सामानहरु जस्तै डाक्टरको लागि व्लड प्रेसर नाप्ने सामान्य यन्त्र, स्टेथोस्कोप, खेलाडिको खेलकुद सम्बन्धी सामान जस्तै फुटबल, भलिबल, व्याडमिन्टन सेट, गायकको सामान्य बाजा जस्तै गिटार, हार्मोनियम, तवला जस्ता सामानहरु १/१ थानमा महसुल लाग्दैन तर आफ्नो दक्षता वृद्धिको लागि आवश्यक पर्ने सामान २/२ थान ल्याउन पाइन्छ र सो मा प्रचलित आर्थिक ऐन अनुसार महसुल तिर्नु पर्दछ।

१३. विदेशबाट फर्कने नेपाली यात्रुले आफ्नो प्रयोगको लागि खाद्य पदार्थ कति सम्म ल्याउन पाइन्छ?
महसुल नतिरी ७ किलो सम्म र प्रचलित आर्थिक ऐन अनुसार महसुल तिरी १० किलो सम्म खाद्य पदार्थ ल्याउन पाइन्छ।

१४. विदेशमा बसेका व्यक्तिले नेपालमा रहेका आफन्त वा परिवारलाई सामान पठाउन मिल्छ ?
विदेशमा बसेका व्यक्तिले नेपाल सरकारले मनाही तथा परिमाणात्मक बन्देज लगाइएका सामान बाहेक तीन सय पचास अमेरिकी डलर सम्मको सामान पठाएमा भन्सार कार्यालयले प्रमाण हेरी नियमानुसार लाग्ने महसुल लिई जाँचपास गर्न सक्नेछ।

१५. विदेशबाट फर्कने नेपाली यात्रुले चुरोट, सिगार कति ल्याउन पाइन्छ ?
विदेशमा बसेका नेपाली यात्रु आफू फर्कदा चुरोट २०० खिल्लीसम्म वा सिगार ५० खिल्ली सम्म आर्थिक ऐन अनुसार महसुल तिरी ल्याउन पाइन्छ । सो भन्दा बढी ल्याएमा बढी भएजतिको परिमाणमा लाग्ने भन्सार महसुलमा शत प्रतिशत थप महसुल लाग्छ।

१६. विदेशबाट फर्कने नेपाली यात्रुले आफू साथ ल्याएका वा आफू आउनु अघि वा पछि पठाएको सामानहरुमा के कति भन्सार छुट पाइन्छ ?
विदेशमा ६ महिना भन्दा बढी अवधि बसि फर्कने यात्रुले निम्न बमोजिमको मूल्य सम्मका सामानमा लाग्ने महसुल पूर्ण रुपमा छुट पाउँछन्‌ ।
• ६ महिना भन्दा बढी एक वर्षसम्म विदेशमा बसि फर्केमा १५ हजार सम्म र
• एक वर्ष भन्दा बढी जतिसुकै अवधि विदेशमा बसि फर्केमा २५ हजार रुपैयाँ सम्म

१७. विदेशबाट फर्केका नेपाली यात्रुले आफुले ल्याएको सामान अन्य व्यक्तिको नाममा जम्मा गर्न र नामसारी गरी छुटाउन सकिन्छ ?
विदेशबाट फर्केका यात्रुले ल्याएको सामान अर्को व्यक्तिको नाममा जम्मा गर्न वा नामसारी गरी छुटाउन पाइदैन।

१८. नेपाली नागरिक विदेश जाँदा विदेशमा रहेका आफन्त तथा मित्रहरुलाई सौगातको रुपमा दिन कति मूल्य सम्मका सामान नेपालबाट साथमा लिएर जान पाइन्छ ?
नेपालमा उत्पादन भएका पचास हजार मूल्य सम्मका मालसामान (मनाही र नियन्त्रित बाहेक) महसुल नतिरी लैजान पाइने र मु.अु.कर लाग्ने सामान भए कर विजक र मु.अ. कर नलाग्ने सामान भए स्थायी लेखा नम्बर भएको विजक पेश गरेमा मूल्यको सिमा बन्देज लागू हुँदैन।


१९. यात्रुले आफूसँग कति विदेशी मुद्रा ल्याउन लैजान पाउँछन्‌?
यात्रुले आफूसँग अमेरिकी डलर पाँच हजार भन्दा बढी नगद ल्याउन र लैजाने भएमा भन्सारमा घोषणा गरेर ल्याउन लैजान पाउँछन्‌।

२०. विदेशमा बस्ने नेपालीले आफूले प्रयोग गरेका लत्ता कपडाहरु हुलाक पुलिन्दा बाट पठाउँदा महसुल लाग्छ/लाग्दैन ?
प्रयोग गरेका लत्ता कपडामा महसुल लाग्दैन।

२१. विदेशबाट फर्कने नेपाली यात्रुले आफु आउनु भन्दा अघि वा पछि ल्याएका महसुल पूर्ण छुट हुने वा महसुल तिरी ल्याउन पाउने वस्तु बाहेक नितान्त घर व्यवहारमा प्रयोग हुने कुनै सामानहरु ल्याउन पाइन्छ/पाइदैन ?
विदेशबाट फर्केका नेपाली यात्रुले नितान्त घर व्यवहारमा आवश्यक पर्ने सामान ल्याएमा त्यस्ता यात्रुको अवस्था परिवार संख्या बसेको मुलुक र समयावधि समेतलाई ध्यानमा राखि भन्सार कार्यालयको प्रमुखले औचित्य हेरी लाग्ने महसुल लिई जाँचपास गर्न स्वीकृति दिनसक्छ।

२२. विदेशबाट आफू फर्किसकेपछि पनि सामान ल्याउन (मगाउन) पाइन्छ ?
नेपालमा स्थायी बसोवास गर्ने नेपाली नागरिक विदेशमा गई नेपाल फर्कंदा आफू आउनु अघि वा पछि सामान चलान गरेको भएमा आफू नेपाल प्रवेश गरेको मितिले तीन महिनाभित्र त्यस्तो सामानलाई भन्सार गोदाममा दाखिल गरिसकेको भएमा मात्र पाइन्छ।

२३. विदेशमा औषधि उपचार गराई फर्केका विरामीले साथमा ल्याएका औषधिमा भन्सार लाग्छ/लाग्दैन?
चिकित्सकको सिफारिस भएमा लाग्दैन।


२. विदेशी यात्रुका हकमा
२४. विदेशी यात्रुले सुन र चाँदी के कति ल्याउन पाउँछन्‌ ?
विदेशबाट नेपाल आउने विदेशी यात्रुले काँचो सुन तथा चाँदी ल्याउन पाउने छैनन्।तर गहनाको हकमा भने सुनको गहना पुरुषको हकमा पच्चीस ग्राम र महिलाको हकमा पचास ग्राम सम्म तथा चाँदीको गहना सय ग्रामसम्म महसुल नतिरी ल्याउन पाँउछन्।

२५. विदेशी यात्रुले बढी परिमाणमा गहना ल्याएमा के हुन्छ?
विदेशी यात्रुले आफ्नो साथमा ल्याउन पाउने पुरुषको हकमा पच्चीस ग्राम र महिलाको हकमा पचास ग्रामसम्म सुनको गहना र एक सय ग्रामसम्म चाँदीका गहना भन्दा बढी निजी प्रयोगका सुन तथा चाँदीका गहना पछि फिर्ता लैजाने गरी भन्सार बिन्दुमा घोषणा गरेर २० प्रतिशत धरौटी राखेर ल्याउन पाउँछन्‌ । त्यसरी ल्याएको गहना यात्रु फर्कँदा भन्सार बिन्दुमा परीक्षण गराई त्यस्तो गहना ल्याउँदा राखेको धरौटी रकम फिर्ता लैजान सक्नेछन्। त्यसरी परीक्षण गर्दा घोषणा गरे भन्दा फरक गुणस्तर तथा परिमाण भएको प्रमाणित भएमा भने कारबाही हुनेछ।
भारतीय यात्रुका सम्बन्धमा
तर भारतबाट विवाह लगायतका सामाजिक कार्यमा आउने यात्रुले आफ्नो स्व:प्रयोजनका लागि ल्याउने गहना आफु फर्कँदा फिर्ता लैजाने शर्तमा भन्सार कार्यालयमा तोकिएको ढाँचामा घोषणा गरी ल्याउन सक्नेछ।

२६. बढी परिमाणमा सुन तथा चाँदी र सो का गहना ल्याएमा के हुन्छ?
कुनै पनि यात्रुले तोकिए भन्दा बढी परिमाणमा काँचो सुन वा चाँदी तथा सुन वा चाँदीको गहनाको महसुल तिरेर पनि ल्याउन पाउने छैनन् र ल्याएको फेला परेमा त्यस्तो मालवस्तुलाई जफत गरी त्यसको मूल्य बराबर जरिवाना र १० लाख रुपैयाँ भन्दा बढी मूल्यको सुन वा चाँदी फेला परेमा कैद समेत हुनेछ।

२७. अन्तर्राष्ट्रिय हवाई उडानबाट आउने जाने विदेशी यात्रुले पछि फिर्ता ल्याउने वा लैजाने शर्तमा निजी प्रयोगका चलनचल्तीमा ल्याएका कुन कुन पुराना सामान ल्याउँदा वा लैजाँदा महसुल छुट हुन्छ ?
• बाइनाकुलर (दुरबिन) गोटा १
• ट्याबलेट वा ल्यापटप, भिडियो क्यामेरा, स्टिल क्यामेरा, १/१ गोटा
• पोर्टेवल म्यूजिक सिष्टम १ सेट
• लुगाफाटा, बरविछ्यौना, घर गृहस्थीका पुराना सामानहरु,
• पेराम्वुलेटर र ट्राइसाइकल एक एक थान,
• साइकल १,
• घडी १
• सेलुलर मोवाइल फोन १
• पुरुषको हकमा पच्चिस र महिलाको हकमा पचास ग्राम सम्म सुनको गहना र सय ग्राम सम्म चाँदीको गहना
• मदिरा १ लिटरसम्मको एक बोतल वा वियर १२ क्यान सम्म
• चुरोट २०० खिल्ली, सिगार ५० खिल्ली सम्म, टोवाको २५० ग्रामसम्म
• दश हजार रुपैया मूल्य सम्मका औषधी (नेपालमा पैठारी निषेध भएका बाहेक)
• पाँच हजार रुपैया मूल्य सम्मका खानेकुराहरु (टिन प्याक समेत)
• दुइ हजार रुपैया मूल्य सम्मका ताजा फलफूल
• निम्न बमोजिमका पेशाकर्मीले आफूले चलनचल्तीमा ल्याएका निम्न बमोजिमका उपकरणहरु
• पेशाकर्मीले काम गर्न ल्याएको ज्यावल बढीमा १ सेट
• डाक्टर वा बैद्यले काम गर्नको निमित्त ल्याएको सामान्य किसिमको यन्त्र, औजारहरु र औषधीहरु तथा सम्वन्धित विशेषज्ञले प्रयोग गर्ने आवश्यकीय सामानहरु
• गायक वा संङ्गीतकारले ल्याएको गाना बजानाको यन्त्र एवं गाना बजाना सम्बन्धी आवश्यक सामान
• खेलाडीको खेलकुद सामान
• माछा मार्ने रड

२८. यात्रुले आफूसँग कति विदेशी मुद्रा ल्याउन लैजान पाउँछन्‌?
यात्रुले आफूसँग अमेरिकी डलर पाँच हजार भन्दा बढी नगद ल्याउन र लैजाने भएमा भन्सारमा घोषणा गरेर ल्याउन लैजान पाउँछन्‌।

२९. विदेशी यात्रुले के कति रकम सम्मको नेपालको बजारमा खरिद गरेको मालसामान इजाजतपत्र बिना विदेशमा पठाउन वा लैजान सक्छ ?
विदेशी यात्रुले आधिकारिक रुपमा विदेशी मुद्रा सटही गरेको प्रमाण भएसम्म रकमको नेपालमा खरिद गरिएको मालसामान बिना इजाजत पत्र (निकासीमा बन्देज लागेको बाहेक) लैजान वा पठाउन सक्छ।

३०. विदेशी यात्रुले मूल्य अभिवृद्धि कर लाग्ने विजक वा सो कर नलाग्ने सामानमा स्थायी लेखा नम्बरको विजक भएमा कति सम्मको मालसामान आफुसाथ लैजान वा पठाउन सक्छ ?
रु ५ लाख रुपैयाँ सम्मको मालसामान आफू साथ लैजान वा पठाउन मू.अ. कर विजक वा स्थायी लेखा नम्वर भएको विजक आवश्यक पर्दैन । सो भन्दा माथिको हकमा उपरोक्त विजकहरुको जति सुकै मूल्यको सामान (निकासी मा वन्देज लागेको वाहेक) विना इजाजतपत्र निकासी गर्न सक्दछ ।

३. अन्य व्यवस्था
३१. १६ वर्ष उमेर नपुगेका यात्रुका सम्बन्धमा कस्तो व्यवस्था छ ?
विदेशबाट फर्कने नेपाली यात्रु मध्ये १६ वर्ष मुनिका यात्रुले छुटको सिमाको ५० प्रतिशत मात्र सुविधा पाउँछन्‌।

३२. कुनै नेपाली नागरिकको विदेशको बसाइको क्रममा मृत्यु भएमा निजको विदेशमा बस्दा प्रयोग गरेका सामानहरु पैठारी हुँदा कुनै कर महसुल लाग्छ/लाग्दैन ?
प्रयोगमा आएका पुराना घरायसी मालसामान (सवारी साधन बाहेकमा) स्वदेशमा फिर्ता ल्याउँदा कुनै महसुल लाग्दैन।

३३. भारतीय सेवा वा प्रहरीबाट सेवा निवृत भई निवृतिभरण पाउने गरी स्वदेश फर्कदा निजी प्रयोगका घरायसी सामान आफू साथ ल्याउँदा भन्सार लाग्छ/लाग्दैन ?
सेवा निवृत भएको कागजात पेश गरेमा एक पटकको लागि ५० हजार मूल्य सम्म पर्ने सामानहरु महसुल छुटमा ल्याउन पाइन्छ (सवारी साधन, हात हतियार र खर खजाखजाना र प्रतिबन्धित सामान बाहेक)।

३४. उडानमा गएका क्य्रू मेम्बरले आफ्नो प्रयोगमा ल्याएको निजी सामान बाहेक अन्य वस्तु ल्याउन पाइन्छ ? ल्याएमा के हुन्छ ?
उडानमा गएका बखत क्य्रू मेम्बरले साथमा लगेका निजी सामान बाहेक अन्य सामान ल्याउन पाँइदैन।

३५. गैर आवासीय नेपाली यात्रुले काँचो सुन लिएर आउन पाँउछ/पाउँदैन?
विदेशी यात्रु सरह गैर आवासीय यात्रुले काँचो सुन र सुनका गहनाको परिभाषामा नपर्ने मालवस्तु साथमा लिई आउन पाउँदैन।

३६. ग्रीन च्यानेल र रेड च्यानेल भनेको के हो ?
अन्तर्राष्ट्रिय उडानबाट आउने यात्रुहरुले आफ्नो साथमा महसुल नलाग्ने मालवस्तु भएमा भन्सार क्षेत्रमा हरियो लेनबाट र महसुल लाग्ने मालवस्तु भएमा रातो लेनबाट बाहिर निस्कनु पर्दछ।यही हरियो लेनलाई ग्रीन च्यानेल र रातो लेनलाई रेड च्यानेल भनिन्छ।

३७. ग्रीन च्यानेल वा रेड च्यानेल कसरी छान्ने ?
यात्रुले आफूले लिई आएको मालवस्तु आफू प्रवेश गर्ने मुलुकको नियमानुसार महसुल छुटमा ल्याउन पाउने हो होइन, आफूसँग महसुल लाग्ने सामान छन् छैनन् निश्चित गरेर मात्र च्यानेल रोज्नु पर्दछ। तर केही सामानमा महसुल छुट हुने र केहीमा नहुने जस्तो द्विविधा पर्न गएमा रेड च्यानेल नै उपयुक्त हुन्छ।

३८. ग्रीन च्यानेलबाट महसुल लाग्ने/नलाग्ने सरसामान ल्याउँदा कसरी पहिचान गरिन्छ ?
ग्रीन च्यानेलबाट ल्याइएका सामानहरुलाई एक्स रे स्क्रिनिङ्ग गरिन्छ र शङ्काष्पद अवस्थामा बाहेक चेकजाँच गरिदैन।

३९. रेड च्यानेलको प्रक्रिया के हो ?
रेड च्यानेलबाट ल्याइएका मालवस्तु खोली चेकजाँच गरिन्छ र नियमानुसार लाग्ने महसुल लिई जाँचपास गरिन्छ।