• EN

परिचय

देशको सीमापार व्यापारलाई नियमन र व्यवस्थापन गर्ने सरकारी निकाय भन्सार हो। भन्सारले मूलतः अन्तर्राष्ट्रिय व्यापारमा राजस्व संकलन गर्ने, अन्तर्राष्ट्रिय वैध व्यापारलाई सहजीकरण गर्ने एवं समाज र वातावरणलाई पैठारी नियन्त्रण गरी समाज हानि नोक्सान पुर्‌याउने मालवस्तुको निकासी वा पैठारी नियन्त्रण गरी सामाजिक संरक्षण एवं सुरक्षामा टेवा पुर्‌याउने भूमिकाभित्र रहेर विभिन्न कार्यहरु गर्दछ। भन्सार प्रशासनलाई व्यवस्थित, पारदर्शी एवं उत्तरदायी बनाई अन्तर्राष्ट्रिय व्यापारलाई सुरक्षित एवं सहज बनाउने उद्देश्यले जारी भएको भन्सार ऐन, २०६४ र भन्सार नियमावली, २०६४ हाल कार्यान्वयनमा रहेका छन्।

अर्थ मन्त्रालय अन्तरगत रहेको भन्सार विभाग मातहत हाल ४० वटा मूल भन्सार कार्यालय, विभिन्न मूल भन्सार मातहत जम्मा १३३ वटा छोटी भन्सार कार्यालय र १ वटा भन्सार जाँचपास परीक्षण (पिसिए) कार्यालय रहेका छन्।राजस्व संकलनको महत्वपूर्ण हिस्सा ओगटेको भन्सार प्रशासनले कुल राजस्वको करिब ४४ प्रतिशत र कुल कर राजस्वको करिब ५० प्रतिशत राजस्व संकलन गर्दै आएको छ।

भन्सार प्रशासनलाई योजनाबद्ध किसिमले सुधार तथा आधुनिकीकरण गर्दै लैजाने उद्देश्यले आर्थिक बर्ष २०६०/६१ देखि चरणबद्ध रुपमा भन्सार सुधार तथा आधुनिकीकरण सम्बन्धी रणनीतिक योजनाहरु तर्जुमा एवं कार्यान्वयन हुँदै आएका छन्। हाल छैठौं चरणको पाँच बर्षीय भन्सार सुधार तथा आधुनिकीकरण योजना (आ.व. २०७८/७९-२०८२/८३) कार्यान्वयनमा रहेको छ।

भन्सार सुधार तथा आधुनिकीकरणकै क्रममा भन्सार जाँचपास प्रकृयालाई स्वचालित बनाउन ASYCUDA World (NECAS), सरोकारवाला निकायहरुलाई एउटै डिजिटल प्लेटफर्ममा जोडी सोही प्लेटफर्मबाट स्वचालितरुपमा आवश्यक कागजातहरु (लाइसेन्स वा परमिट वा इजाजत वा सिफारिस) पठाउन र प्राप्त गर्नका लागि नेपाल राष्ट्रिय एकद्वार प्रणाली  (NNSW), जोखिममा आधारित जाँचपासका लागि छनौट प्रणाली, विद्युतीय भुक्तानी प्रणाली, निकासी पैठारीकर्तालाई विशेष नम्बरबाट पहिचान गर्न एक्जिम कोड लगायत स्वचालित प्रणालीहरु कार्यान्वयनमा ल्याइएको छ।

नेपाल सन् १९८६ मा विश्व भन्सार संगठनको सदस्य, सन् २००४ मा विश्व व्यापार संगठनको सदस्य भएको छ। यसैगरी सन् २०१७ मा भन्सार प्रकृयाहरुको सरलीकरण र एकरुपताको लागि कोशेढुङ्गाको रुपमा रहेको संशोधित क्योटो महासन्धिको पक्ष राष्ट्र भएको छ र सोही बर्ष विश्व व्यापार संगठन, व्यापार सहजीकरण सम्झौतालाई अनुमोदन गरेको छ। नेपालले विश्व भन्सार संगठनले जारी गरेका वस्तु वर्गीकरण प्रणाली लगायत विभिन्न औजार तथा मापदण्डलाई पालना गर्दै आएको छ भने विश्व व्यापार संगठनको भन्सार मूल्यांकन प्रणालीलाई अवलम्बन गरी पैठारी हुने मालवस्तुको भन्सार मूल्यांकन गर्दै आएको छ। अन्तर्राष्ट्रिय व्यापारमा आएको परिवर्तनसँगै भन्सार प्रशासनलाई अझ बढी कुशल, सेवामुखी तथा पारदर्शी बनाउन नेपालको भन्सार प्रशासन निरन्तर प्रयत्नशील रहेको छ। नेपालको भन्सार प्रशासन विश्व भन्सार संगठन र विश्व व्यापार संगठनको माध्यमबाट अन्तर्राष्ट्रिय व्यापार प्रणालीसँग जोडिदै २१औं शताब्दीको भन्सार प्रशासनले निम्त्याएको चुनौतिसँग जुध्न मार्गचित्र कोर्दै निरन्तर अगाडि बढेको छ।

अन्तर्राष्ट्रिय व्यापारको निरन्तर परिवर्तनशील प्रवृत्ति र प्रविधिको क्षेत्रमा भइरहेको द्रुततर विकासलाई मध्यनजर गर्दै भन्सारका नवीन चुनौती एवं समस्याहरुलाई समाधान गर्न परम्परागत एवं नयाँ साझेदारहरु सबैसँग सहकार्य गरी समन्वयात्मक रुपमा अगाडि बढ्न र नवप्रवर्तनको माध्यमबाट भन्सार प्रकृयालाई सरलीकृत गर्दै व्यापार सहजीकरण, सीमा सुरक्षा तथा दिगो आपूर्ति श्रृंखला निर्माण गर्न भन्सार प्रणाली सम्बद्ध सबै क्षेत्रको संलग्नता सुनिश्चितताका लागि यस बर्ष अर्थात् सन् २०२४ जनवरी २६ का दिन विश्व भन्सार संगठनले ७२औं अन्तर्राष्ट्रिय भन्सार दिवसका लागि “Customs Engaging Traditional and new Partners with Purpose” भन्ने नारा तय गरेको छ।

नेपालको भन्सार प्रशासनले कार्यान्वयनमा ल्याएको छठौं चरणको चालु भन्सार सुधार तथा आधुनिकीकरण योजनाले परिलक्षित गरेका कार्यक्रमहरु, नेपाल सरकारको बार्षिक नीति तथा कार्यक्रममा उल्लिखित कार्यक्रमहरु, अन्तर्राष्ट्रिय रुपमा भन्सारले अवलम्बन गरेका उत्तम अभ्यास तथा प्रचलनहरु र भन्सार प्रशासनले सुधार तथा आधुनिकीकरणका लागि महशुस गरेका समसामयिक विषयहरु समेत समेटी तयार गरेको बार्षिक कार्ययोजनामा उल्लिखित कार्यक्रमहरुको सफल कार्यान्वयन गरी विश्व भन्सार संगठनले यस बर्षका लागि अघि सारेको नारालाई साकार बनाउन हामी प्रतिबद्ध रहेका छौं।

महानिर्देशक