कार्यालयहरु

सम्पर्क

भन्सार विभाग

त्रिपुरेश्वोर, काठमाडौँ

फोन नं. : ०१-४२५९८६१

फ्याक्सः ४२५९८०८

इमेल: csd@customs.gov.np

 

प्रेस विज्ञप्ती

भन्सार विभागको आयोजनामा २ दिने भन्सार व्यवस्थापन गोष्ठी आज २०७३ श्रावण २७ देखि शुरु भएको छ । गोष्ठीमा अर्थ मन्त्रालय र अन्तर्गत विभागीय प्रमुखहरु, भन्सार कार्यालयका प्रमुखहरु, काठमाण्डौं उपत्यका भित्रका अर्थ मन्त्रालय अन्तर्गतका कार्यालय प्रमुखहरु लगायत भन्सार विभागमा कार्यरत कर्मचारीहरुको सहभागिता रहेको थियो । गोष्ठीको उद्घाटन सत्रमा भन्सार विभाग र राजस्व अनुसन्धान विभागका बीच सूचना आदान प्रदान गर्ने बिषयमा आपसी संझौता (MOU) सम्पन्न भयो । यस्तो MOU यस अघि  आन्तरिक राजस्व विभाग र सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागसँग सम्पन्न भैसकेको छ ।

गोष्ठीको सफलताको शुभकामना व्यक्त गर्नु हुदैं उपप्रधान मन्त्री तथा अर्थ मन्त्री मा. कृष्णवहादुर महराले संघीयताको कार्यान्वयन गर्दा भन्सार प्रशासनको भूमिका के हुने हो विषयका बारेमा यस गोष्ठीले छलफल गरी निष्कर्ष निकाल्ने अपेक्षा गर्नुभयो । भन्सार प्रशासनले सुधारका विषयमा प्रशस्त कार्य गरेकोमा धन्यवाद दिंदै अझै पनि भन्सार प्रशासन प्रति समाजले हेर्ने दृष्टिकोण सकारात्मक हुन नसकेकोले अबको भन्सार प्रशासनले आफ्नो छवि उजिल्याउन, आधुनिकीकरण र सहजिकरण मार्फत अवैध व्यापारलाई  नियन्त्रण गर्न निर्देशन दिनुभयो । कर्मचारीहरुलाई उच्च मनोबलका साथ काम गर्र्दै  भन्सार प्रशासनका प्रक्रियाहरुलाई अझै सरलीकरण गर्दै लैजान निर्देशन दिनुहुँदै मा. उपप्रधानमन्त्री तथा अर्थमन्त्रीले अवैध व्यापार नियन्त्रण गर्ने कार्ययोजना बनाई सुधारका कार्यक्रमलाई निरन्तरता  दिई अब भन्सारको सेवालाई विद्युतीय प्रणालीमा आवद्ध गर्ने विषयमा थप कार्यक्रम ल्याउन निर्देशन दिनुभयो । समग्र भन्सार कर्मचारीहरुलाई उच्च मनोबलका साथ कार्य गर्न निर्देशन दिनुहुदैं अब भन्सार प्रशासनमा काम गर्ने कर्मचारीहरु पूर्ण व्यवसायिक भई निर्भिकताका साथ काम गर्न समेत निर्देशन दिनुभयो ।

गोष्ठीलाई सम्ंबोधन गर्दै अर्थ मन्त्रालयका सचिब (राजस्व) श्री राजन खनालले राजस्व प्रशासनका विभिन्न विभाग र कार्यालयहरु बीच समन्वय कायम गरी सीमावाट हुने  मालवस्तुको अवैध ओसार पसार नियन्त्रण गर्नुपर्ने आवश्यकता औंल्याउनु भयो । अबको भन्सार प्रशासनले सूचना प्रबिधिको माध्यमले व्यापार सहजीकरण गर्ने, व्यावसायीको  व्यापारिक लागत कम गराउने काम गर्न र उपभोग गर्न अनुपयूक्त मालवस्तुहरु रोक्न निर्देशन दिंदै अबको भन्सार प्रक्रियाहरुलाई  प्रविधियूक्त बनाउनु पर्ने आवश्यकता समेत औंल्याउनु भयो ।

गोष्ठी उद्घाटन कार्यक्रमको अध्यक्षता गर्नु भएका भन्सार विभागका महानिर्देशक श्री शिशिर कुमार ढुङ्गानाले गोष्ठी मार्फत भन्सार प्रशासनको कार्य सम्पादनमा सुधार ल्याउने विचार व्यक्त गर्नुभयो । प्रतिकुल समयका बाबजुद गत आर्थिक वर्षमा भन्सार प्रशासनले तोकिएको लक्ष्यको करिव ९५ प्रतिशत राजस्व संकलन भएको, चालु आर्थिक वर्ष भित्र १० वटा प्रमुख भन्सार कार्यालयहरुमा आशिकुडा वल्र्ड लागू गर्ने तयारी गरिएको, १४ वटा भन्सार कार्यालयहरुको कार्यलाई  Internet Protocol (IP) क्यामेरावाट प्रत्यक्ष अनुगमन भईरहेको जानकारी गराउनु भयो । त्यसै गरी यस आर्थिक वर्षमा ग्रीन च्यानलको विस्तार गरी Yellow Channel को सुरुवात गर्ने, भौतिक पूर्वाधार तयार गरी ICP संचालन गरिने, विभागका महानिर्देशक र कार्यालय प्रमुखहरुवीच कार्यसम्पादन सम्झौता गर्ने , न्यून विजकीकरण भएका मालवस्तुको जाँचपास नियन्त्रण व्यवस्थित गरी खरिद गरिने जस्ता सुधारका उपाय अवलम्वन गरी रु २४६ अर्ब राजस्व संकलन गर्ने लक्ष्य पुरा गर्ने प्रतिबद्धता जनाउनु भयो । सो लक्ष्य प्राप्तिका लागि आगामी दिनमा अवलम्वन गरिनु पर्ने रणनीतिका वारेमा समेत चालु गोष्ठीमा छलफल गरिने समेत जानकारी गराउनु भयो । सो अवसरमा नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष श्री पशुपती मुरारकाले हालको भन्सार प्रशासनले सुधारका कार्यहरुलाई अङ्गिकार गर्दै सूचना प्रविधि मैत्री बन्दै गइरहेकोमा सुधारका कार्यक्रमहरुलाई अझै तिव्रता दिनुपर्ने आवश्यकता औंल्याउनु भयो । कार्यक्रममा भन्सार विभागका उपमहानिर्देशक श्री श्रीकृष्ण नेपालले उपस्थित अतिथिहरुको स्वागत गर्नुभएको थियो ।