भन्सार ब्यवस्थापन गोष्ठी २०७३ सम्पन्न

 

परिवर्तित सन्दर्भमा भन्सार प्रशासनको भूमिका राजस्व संकलनमा मात्र सीमित नगरी समग्र अर्थतन्त्र सूसंचालनको लागि व्यवसायिक र सक्षम भन्सार प्रशासनको रुपमा स्थापित गर्ने उद्देश्यका साथ  २०७३ श्रावण २७ देखि २८  गते सम्म दुई दिने भन्सार व्यवस्थापन गोष्ठी सम्पन्न भएको छ । माननीय उपप्रधान तथा अर्थमन्त्री कृष्ण वहादुर महराज्यूको प्रमुख आतिथ्यमा प्रारम्भ भएको  यस दुई दिने  गोष्ठीको उद्घाटन सत्रको अध्यक्षता भन्सार विभागका महानिर्देशक श्री शिशिर कुमार ढुङ्गानाले गर्नु भएको थियो भने  राजस्व सचिव श्री राजन खनाल , नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष श्री पशुपति मुरारका, नेपाल उद्योग परिसंघका अध्यक्ष श्री हरिभक्त शर्मा, नेपाल च्याम्वर अफ कमर्शका का. अध्यक्ष लोकमान्य गोल्छा तथा अर्थ मन्त्रालयका सहसचिवहरु, अर्थ मन्त्रालय अन्तर्गत विभागका विभागीय प्रमुख, उप प्रमुखहरु, प्रमुख भन्सार प्रशासक, प्रमुख भन्सार परीक्षण प्रशासक, प्रमुख भन्सार अधिकृत, भन्सार अधिकृत, कार्यालय प्रमुखहरु लगायत अन्य कर्मचारीहरु तथा पत्रकारहरु समेतको उपस्थितीरहेको  थियो ।

 


स्वच्छ र मर्यादित  व्यवसायिक वातावरणको निर्माण र अनाधिकृत आर्थिक गतिविधिको नियन्त्रणका लागि भन्सार प्रशासनलाई  व्यवसायिक र सक्षम वनाउने उपायहरुको वारे खोजी गर्न, भन्सार मूल्यांकनका सैद्धान्तिक पक्षहरुको प्रयोग गरी वास्तविक र यथार्थपरक मूल्यांकन प्रणाली अवलम्वन गर्ने आधार दिइ भन्सार मूल्यांकनलाई वस्तुनिष्ठ, यथार्थपरक र वैज्ञानिक बनाउन, सन्दर्भ मूल्यसूचीलाई समेत सहभागिता मूलक पद्दतिबाट परिमार्जन गर्ने उद्देश्यका साथ संञ्चालन भएको भन्सार व्यवस्थापन गोष्ठीलाइ उद्घाटन सत्र,  विषयगत तथा नीतिगत सुझावको लािग विषयगत (Thematic) समुह विभाजन – छलफल – नीतिगत सिफारिस तथा प्रस्तुतीकरण र समापन कार्यक्रम गरी तीन भागमा वर्गीकरण गरी संञ्चालन गरिएको थियो ।

गोष्ठीको अवसरमा भन्सार विभाग र राजस्व अनुसन्धान विभागका बीच सूचना आदान प्रदान गर्ने बिषयमा आपसी संझौता (MOU) सम्पन्न भएको छ । यस्तो MOU यस अघि  आन्तरिक राजस्व विभाग र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागसँग सम्पन्न भैसकेको छ । यसै गरी  भन्सार कार्यालयहरु र भन्सार  विभागको वीचमा  कार्य सम्पादन सम्झौता समेत गरिएको  छ । कार्य सम्पादन सम्झौतामा विभागको तर्फवाट महानिर्देशक श्री शिशिर कुमार ढुङ्गानाले र कार्यालयहरुको तर्फवाट सम्वन्धित भन्सार कार्यालयका कार्यालयप्रमुखहरुले हस्तक्षर गर्नुभएको थियो ।