भन्सार ब्यबस्थापन गोष्ठी २०७३ सम्पन्न

भन्सार विभागको आयोजनमा मिति २०७३।०१।१६ र १७ मा काठमाडौमा भन्सार व्यवस्थापन गोष्ठी सम्पन्न भएको छ । गोष्ठीमा अर्थ मन्त्रालय, अन्तर्गत विभागीय प्रतिनिधिहरु, राजस्व अनुसन्धान विभाग अन्तर्गत सवै क्षेत्रीय कार्यालयहरुको प्रमुखहरु, भन्सार विभाग र अन्तर्गतका सवै भन्सार कार्यालयहरुका कार्यालय प्र्रमुख लगायतको सहभागितारहेको थियो । गोष्ठीमा भन्सार विभाग र आन्तरिक राजस्व विभाग वीच Exim Code वनाउन आवश्यक पर्ने सुचना आदान प्रदान गर्ने संझौतामा एक समारोहवीच हस्ताक्षर सम्पन्न भएको थियो । गोष्ठीमा सहभागीहरुलाई निर्देशन दिदै अर्थ मन्त्री श्री विष्णु प्रसाद पौडेलले गोष्ठी राजस्व प्रशासनमा रहेको विविध समस्याहरुलाई समाधान गर्ने थलो बन्ने  विश्वास गर्नु हुदै वास्तविक, पारदर्शी रुपमा कार्य गरी भन्सार प्रशासनमा स्वच्छता कायम गर्न निर्देशन दिनुभयो । राजस्व संकलनको लक्ष्य पुरा गर्न सुझाउनु हुदैं मन्त्री पौडेलले लक्ष्य हासिल गर्नका लागि आवश्यक परेमा मन्त्रालय जस्तोसुकै सहयोग गर्न तयार रहेको व्यहोरा जानकारी गराउंदै सकारात्मक कार्य गर्ने कर्मचारीलाई आफुले संरक्षण र सम्मान गर्ने समेत बताउनु भयो । गोष्ठीको शुभारम्भमा अर्थ राज्य मन्त्री श्री दामोदर भण्डारीले देश संघियतामा गएको तथा भुकम्प पछिको पुनः निर्माण समेतको लागि श्रोत साधनको माग अत्याधिक रहेकोले भन्सारका क्रियाकलापहरुमा सुधार ल्याई आगामी दिनमा अपेक्षित राजस्व संकलन गर्न गोष्ठी सफल हुने विश्वास गर्नु भयो । अवको वजेट आर्थिक सम्वृद्धिको वजेट हुने वताउदैं यस आ.व.को नपुग राजस्व संकलन गर्न अर्थ मन्त्रालयले Back Up Plan को तयार गरी अघि बढीरहेको समेत वताउनु भयो ।


उक्त अवसरमा  राजस्व सचिव श्री राजन खनालले वर्तमानमा, वास्तविक रुपमा संकलन भएको राजस्व र संकलन गरिनुपर्ने राजस्व रकमको वीचमा अन्तर रहेको वताउदै सो अन्तर पुरा गर्ने तर्फ सम्वन्धित पदाधिकारीहरुको ध्यानाकर्षण गराउनु भयो । व्यापारका प्रक्रियाहरुलाई प्रविधिले समेट्न सकेमा भन्सार प्रशासनमा देखिने गल्ती कमजोरीहरुलाई सहज व्यवस्थापन गर्न सकिने वताउदैं नविनतम प्रविधिहरुको प्रयोगमा निरन्तर जोड दिन भन्नुभयो । गोष्ठीको शुभारम्भमा अर्थ मन्त्रालय राजस्व ब्यवस्थापन महाशाखा प्रमुख श्री लक्ष्मण अर्याल,आन्तरिक राजस्व विभागका महानिर्देशक श्री चुडामणि शर्मा,  राजस्व अनुसन्धान विभागका महानिर्देशक श्री निर्मलहरि अधिकारी, राजस्व प्रशासन तालिम केन्द्रका प्रमुख श्री गणेश प्रसाद पाण्डेले भन्सार ब्यवस्थापन गोष्ठीको सफलताको शुभकामना प्रदान गर्नु भयो ।


भन्सार विभागका महानिर्देशक श्री शिशिर कुमार ढुङ्गानाले  स्वागत मन्तव्य दिनु हुदै गोष्ठी मार्फत भन्सार प्रशासनको कार्य सम्पादनमा सुधार ल्याइने विचार व्यक्त गर्नु भयो । भन्सार जांचपास, राजस्व संकलन, व्यापार सहजीकरण, भन्सार मूल्यांकनका साथै आगामी आ.व.को बजेटले संबोधन गनृुपर्ने नीतिगत विषयहरुका सम्वन्धमा पनि छलफल भएको गोष्ठीमा चालु आ.व.को निमित्त निर्दिष्ट राजस्वको लक्ष्य प्राप्तिका लागि गरिनु पर्ने विशेष प्रयासका सम्वन्धमा पनि छलफल भएको थियो । यस अतिरिक्त भन्सार प्रशासनमा देखिएका समस्या, चुनौति, चोरी पैठारी निकासी नियन्त्रण, राजस्व संकलनका रणनीतिहरु, मालवस्तुको मुल्यांकन तथा वर्गीकरण आदि समसामयिक विषयहरुमा केन्द्रीत छलफल भई आगामी दिनमा भन्सार प्रशासनको सुधार र आधुनिकीकरण गरी सामाजिक सुरक्षा, राजस्व संकलन तथा व्यापार सहजीकरणमा खेल्नु पर्ने भुमिका सम्वन्धमा पनि छलफल भएको थियो ।